नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सरकार आरोहण पछी एकपटक फेरी मार्क्सकै पालादेखिको र कयौंपटक बिभिन्न देशका जनताहरुले मुक्ती सन्ग्रामको मैदानबाट निर्णय सुनाई सकिएको बिषयमा बहस सुरु भएको छ 'शान्तिपूर्ण संक्रमण वा सशस्त्र क्रान्ति ?'। भियतनाम र क्युबाको क्रान्ती पछीको सबैभन्दा सफ़ल सशस्त्र जनयुद्धलाई हांकेको पार्टीबाट यस्तो छलफ़लको आरम्भ हुनु आफ़ैंमा बिडम्बनापूर्व छ। लेनिनले भन्नुहुन्थ्यो, ब्यवहार सधैं सिद्दान्त भन्दा अगाडी कुद्ने गर्दछ। तर केहि माओबादी नेता तथा कार्यकर्ताहरु लेनिनले भन्ने गरेको यस सत्यलाई किन ख्रुस्चेभी चस्माले ढाक्न खोज्दै छन् र आफ़ैले ब्यबहारबाट प्रमाणित गरेको कुरालाई गलत प्रमाणित गर्न खोज्दैछन्, बुझ्न असजिलो भैरहेको छ।
कार्ल मार्क्स देखी चे ग्वेभेरा सम्म जुन्सुकै क्रान्तिकारी प्रणेताहरुलाई पढे पनि हामिले प्राप्तगर्ने 'शान्तिपूर्ण संक्रमण वा सशस्त्र क्रान्ति?' को उत्तर हो, क्रान्तीको बनिबनाउ नक्सा हुंदैन र यस्को रुप सम्बन्धित देशको बर्ग संघर्षको स्थिती र चरणमा निर्भर गर्दछ। यदी क्रान्ती शान्तीपुर्वक हुने हो भने ब्रह्मान्डमै सबैभन्दा खुशी हुनुपर्ने बैग़्यानिक सामाजवदी र साम्यवादीहरुले हो। तर बैग्यानिक समाजवादी तथा साम्यवादीहरु द्वन्दात्मक र ऐतिहासीक भौतिकवादी पनि हुने भएकोले यस्ता हावादारी तिलका लड्डुहरु घिऊसंग खान रुचाउदैनन किनभने एउटा शोसणमा आधारित समाजबाट सोषण रहित समाजमा शान्तिपूर्ण रुपान्तरण भएको न ईतिहास छ, न बर्तमानमा छ, र यही आधारमा भन्नसकिन्छ, भबिस्यमा पनि हुनेवाला छैन। युगौं देखिको मानिस माथि मानिसको सोषणको अन्त्य, सोषक वर्गले खाइपाइ आएको सुबिधा शन्तिपुर्णरुपले नछोड्ने भएकोले, शान्तिपुर्णरुपले संभव छैन।
फ़्रान्सेली क्रान्तिलाई नजिकबाट नियालेका एन्गेल्सले फ़्रान्सेली क्रान्ति सफ़ल हुनुभन्दा पूर्वनै मार्क्सलाई यो क्रान्ति शान्तिपुर्णरुपले सफ़ल नहुने कुरा आफ़्ना चिट्ठीहरुमा ठोकु्वाकासाथ लेख़ेका थिए भने रसियन फ़ेब्रुवरी बिद्रोहको बारेमा लेनिनले नेत्रित्वले शान्तिको माला जप्नु गलत भयेको बताएका थिए। लेनिनको भनाई थियो 'जनताले हतियार मागिरहेको बेलामा नेत्रित्वले शान्तिको पैरवी गर्नु गलत हो'। भियतनाम देखि पूर्वी टिमोर सम्मका राष्ट्रीय मुक्ती युद्धहरुले शान्तिपुर्ण बाटो मात्रै नअप्नाएको कुरा विश्वसामु छर्लंगै छ।इतिहास पढ्ने प्रत्येक ब्यक्तीलाई थाहा भएको कुरो के पनि हो भने सशस्त्र युद्ध गर्ने मुक्तिकामीहरुलाई आतंककारीको बिल्ला भिराउने सम्युक्त राज्य अमेरिकाको मुक्ती युद्ध पनि सशस्त्र नै थियो।
पेरिस कम्युनको तितो असफ़लता पछी, मार्क्स र एन्गेल्सले कम्युनिष्ट घोषणापत्रमा थप्नु भयो 'खास रुपमा कम्युनले के कुरा प्रमाणित गर्यो भने श्रमजिबी वर्गले पुरानो राज्य सत्तालाई राखिरहन र आफ़्नो पक्षमा प्रयोग गर्न सक्दैन'। यसो भनिरहंदा मार्क्स र एन्गेल्स के कुरामा प्रष्ट हुनुहुन्थ्यो भने श्रमजिबी वर्गले आफ़्नो सत्ता आफ़ैले चलाउने हो भने उस्को आफ़्नै सेना, पुलिस, अदालत र कर्मचारीतन्त्र हुनु अत्यन्त आवस्यक छ। मार्क्स र एन्गेल्सको यो ठम्याईलाई पेरिस कम्युन पछिका, चाहे समाजवादी हुन चाहे राष्ट्रिय मुक्ती युद्ध हुन, प्रत्येक क्रान्तिले सही प्रमणित गर्दै आएका छन। के प्रमाणित भै सकेको छ भने, पुरानो सत्ताको पुर्ण निषेध बिना नया सत्ताको पुर्ण स्थापना संभव छैन।
क्रान्ति न त कसैको ब्यक्तिगत आग्रह न कसैको दया माया बाट हुन्छ। यो त निस्चित देश र कालमा बिकसित वर्ग सन्घर्शलाई सुसंगत ढंगले संचालन गर्दै, अन्तर्बिरोधहरुको सही जानकरी र सही समाधानको प्रक्रिया बाट क्रान्तिकरी बर्गको नेत्रित्वले आफ़्नो श्रेष्ठता प्राप्त गर्ने क्रममा पुग्ने समाज बिकासको उच्चतम बिन्दु हो, नयालाई बिकास गर्दै र पुरानोलाई निषेध गर्दै जादा श्रिजित हुने नयाको पुर्ण स्थपना र पुरानोको पुर्ण बिसर्जनको अवस्था हो। नेपाली जनयुद्धका आफ़्नै अनुभवहरु साक्षि छन्, कसरी नेपाली क्रान्तिकरी वर्गले पुरानो सत्ताका एक एक अंगहरूलाई बिस्थापित गर्दै लगेको थियो र क्रान्तिकारी श्रेष्ठता हासिल गर्दै पुरानो सत्तालाई काठमाण्डौको बन्दी बनाउन र पुरानो सत्ताका भरौटेहरुलाई बार्हष बुंदे सहमतीमा आउन बाद्य गरेको थियो। क्रान्ति एक भौतिक प्रक्रिया हो र यस्का सिमाहरु मनोगत हिसाबले तोकिनु हुन्न।
माथि उत्घ्रित कम्युनिष्ट घोसणापत्रको बाक्यलाई फ़ेरि मुल्यान्कन गर्ने हो भने, के पनि बुझ्न सकिन्छ भने श्रमजिबी बर्गको सत्तालाई चाहिने सेना, पुलिस, अदालत र कर्मचारीतन्त्र पुरानो सत्ता ढल्नासाथ रातारात बन्ने चिजहरु होइनन। यि संयन्त्रहरु क्रान्तिको क्रममा सामाजिक आवस्यकता अनुसार निर्माण र बिकसित हुन्दै जान्छन। यो तथ्यलाई नेपालको दश बर्षे जनयुद्धले पनि प्रमाणित गरिसकेको छ। क्रान्तिको क्रममा बिकसित हुने यस्ता संयन्त्रहरुलाई अझ बिकसित र दर्हो बनाउदै पुरानो संयन्त्रलाई बिस्थापित गर्नु पर्ने हुन्छ।
उपरोक्त अनु्छ्छेदहरुको आधारमा पाठक वर्गहरुमा के भ्रम पर्न सक्छ भने, मार्क्सबादको श्रृजनात्मक प्रयोग गरिनु हुन्न भन्ने यो पंक्तिकारका बिचार हो। लेनिनले आफ़्नो रचना 'Left-Wing Communism: an Infantile Disorder' मा अत्यन्त सही रुपमा बैज्ञानिक समाजवादी तथा साम्यवादीहरुले पुरानो सत्ताका अवयबहरुलाई क्रान्तिकारी उपयोग गर्नुपर्ने कुरा बताउनुभएको छ। उहां भन्नु हुन्छ, 'यदी हामिसंग अरु कुनै उपाय रहेन भने प्रतिक्रियावादी राज्य यन्त्र भित्र रहेर पनि काम गर्नुपर्ने हुन सक्छ, किनकि त्यहां पनि प्रतिक्रियाबादीहरुले झुक्याएका श्रमजिबीहरुलाई शिक्षित गर्ने तथा सेवा गर्ने अवसरहरु प्राप्त हुनसक्छन। यसो भनिरहंदा लेनिनले मार्क्सबादीहरु प्रतिक्रियबादी राज्य यन्त्रहरुमा यि राज्ययन्त्रहरुलाई भत्काउन जाने हो, बचाउन होइन भन्ने पनि प्रष्ट पार्नु भएको छ।
यसको अर्थ मार्क्सबादको श्रिजनात्मक प्रयोग गर्नुपर्छ भन्ने नै हो। तर, नेपाली जनसेनाको प्रतिक्रियाबादी सेनासंग बिलय, जन अदालत र जन सरकारको बिघटन तथा शुरु गरिएको क्रान्तिकारी भूमिसुधारको बिग्रहले नेकपा (माओबादी) प्रतिक्रियाबादी राज्य सत्ता भत्काउन त्यहां घुसेको भन्ने सन्देश दिदैन। अझ भाइचारा कमुनिष्ट पार्टीहरुलाई पनि शान्तिपूर्ण संक्रमणको बाटोमा जान शन्देश दिनुले र यो प्रक्रियालाई मार्क्सबादको अत्यन्त नया रचनात्मक प्रयोगको बिल्ला भिराइनुले नेकपा (माओबादी) नेतृत्वको नियतमाथी नै संका पैदा गर्दछ।
मार्क्सबादीहरु सधैभरी दीगो शन्तिकोलागि लडिरहने भएकोले रक्तपात उनिहरुको चाहना कहिल्यै पनि हुन सक्दैन। तर, यदि दिगो शन्तिकोलागि एकपटको रक्तपात छान्नुपर्यो भने पछि हट्ने कुरा पनि अबस्तुबादी प्रमाणित हुन्छ। आजसम्म्को इतिहासमा श्रमजिबीहरुका मुक्तिसंग्रामहरु, चाहे चिलेमा होस चाहे इन्डोनेसियामा या चाहे संसारको कुनै अरु कुनामा, रक्तपातपुर्णरुपले दमनगरिएका अवस्थामा हामीले शान्तिपुर्ण संक्रमणको पैरवी गर्नु अबैग्यानिक बिचारको पक्षपोषण गर्नु र क्रान्तिको बिरोध गर्नु हो। दिगो शान्तिकोलागि गरिने क्रान्तिले रक्तपातपुर्ण चरणको माग गरेको अवस्थामा पनि शान्तिको माला जप्नु प्रतिक्रान्तिकारी चरित्र हुन जन्छ।
माओ भन्नु हुन्थियो, 'जनतालाई भ्रममा राख्नु प्रतिक्रियबादी तानाशाहहरुको हीतमा छ भने जनतालाई शिक्षीत गर्नु हाम्रो हीतमा छ, यसर्थ हामीले जनतालाई क्रमश: भ्रमबाट मुक्त पार्न शिक्षा र नेत्रित्व दिनु पर्दछ'। तसर्थ, क्रान्तिकरी मार्क्सबादीहरुको जिम्मेवारी हो जनतालाई शन्तिपुर्ण संक्रमण, राज्य सत्ताको वर्गनिरपेक्षता लगायत सम्पुर्ण अवस्तुबादी भ्रमहरुबाट मुक्त गर्नु तथा भ्रम छर्नेहरुको बिरुद्धमा संगठित गर्नु। माओकै अर्को उक्ति सापटी लिंदा 'दुई बिपरित बिचको सन्घर्ष प्रत्येक बस्तुको बिकासको प्रबर्धक शक्ती हो'।तसर्थ नेकपा (माओबादी) भित्र साथसाथै विश्व कम्युनिष्ट आन्दोलन भित्र 'शान्तिपूर्ण संक्रमण वा सशस्त्र क्रान्ति' को पक्ष र बिपक्षमा मैत्रिपुर्ण छलफ़ल र सन्घर्ष हुनु आवश्यक छ ता कि यस बिषयमा भबिष्यमा अरु बढी सन्घर्ष हुनु नपरोस। क्रान्तिको बिकासमा नेकपा (माओबादी) अफ़्नो यस ऐतिहासिक जिम्मेवरीमा कत्तिको सफ़ल छ, त्यो मुल्यंकन गर्ने बेला पनि आइसकेकोछ।